काठमाण्डौ, २९ साउन ।
मुख्य सचिव नियुक्तिपछि रिक्त रहेको स्थानीय विकास सहित बिभिन्न ११ वटा मन्त्रालय र विभागमा सचिवहरुको हेरफेर तथा सरुवा भएको छ ।
विहीवारकै मन्त्रिपरिषद बैठकले गरेको सरुवासम्बन्धी २४ घण्टापछि कार्यान्वयनमा आएको हो । सोमलाल सुवेदी मुख्य सचिव भएपछि रिक्त रहेको स्थानीय विकास मन्त्रालयको सचिवमा माधव रेग्मी पुग्नुभएको छ ।
त्यस्तै राजश्व सचिवमा राजन खनालको सरुवा भएको छ । यसअघि राजश्व सचिव रहेका नवराज भण्डारीले अमेरिकाको ग्रीनकार्ड रोजेर राजीनामा दिनुभएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा गजेन्द्र ठाकुर सरुवा भएका छन् । तुलसी सिटौलाले अवकाश पाएपछि सो मन्त्रालय खाली थियो ।
त्यस्तै राष्ट्रिय योजना आयोगमा सुरेशमान श्रेष्ठ, पर्यटन मन्त्रालयमा दिनेश थपलिया, सामान्य प्रशासन मन्त्रालयमा टंकमणी शर्मा र निर्वाचन आयोगमा शारदा प्रसाद त्रिताल सरुवा हुनुभएको छ ।
शंकरप्रसाद अधिकारी गरिवी निवारण तथा अनुप उपाध्याय सिंचाइमा सरुवा हुनुभएको छ । त्यस्तै मधुप्रसाद रेग्मीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।