काठमाडौं, २८ साउन ।
प्रदेशको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा बन्द गरीएको छ । थारुवान संयुक्त संघर्ष समितीले थारु प्रदेशको माग गर्दै २२ जिल्लामा आज दोस्रो दिन पनि आमहडताल गरेको छ । उता लगातारको बन्दले सुदुरपश्चिमको जनजिवन अन्यतै कष्टकर बनेको छ ।
अखण्ड मध्पश्चिम र मध्पश्चिमको प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने माग सहित सुर्खेत र जाजरकोटमा ५ दिनदेखी आन्दोलन जारी छ । यता पहिचान विनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले आज पूर्वका नौ जिल्ला बन्द गराएको छ ।
सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरीएकोले पूर्वी नेपालको अरुण सप्तकोशी र पूर्वका नौ जिल्ला सहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम र धनकुटा जिल्लाको जनजिवन प्रभावित बनेको छ ।
त्यस्तै बन्दका कारण पूर्वका धरान, इटहरी, विर्तामोड, दमक, काकडभिट्टा लगायतका मुख्य बजारहरु पूर्णरुपमा ठप्प छन । ती जिल्लाहरुमा शैक्षिक संस्था, बजार, कलकारखाना र यातायात पनि संचालनमा आएका छैनन । लिम्बुवान कार्यकर्ताले विहानैदेखि प्रदर्शन गरिरहेका छन ।
उता विशेष अधिकारसहितको कर्णाली प्रदेश माग गर्दै कर्णालीबासीले आज पाँचौ दिन पनि प्रदर्शन जारी राखेका छन् । जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पामा आज पनि यातायात, बजारपसल, सरकारी कार्यालय तथा शिक्षण संस्था ठप्प छन् ।
सो क्षेत्रमा हवाई सेवा समेत बन्द भएको छ । जुम्लामा उद्योग वाणिज्य संघले विहानै विरोध याली निकालेको छ । मुगु सदरमुकाम गमगढीमा शिक्षक, कर्मचारी र आदिवासी जनजाति तथा दलित समुदायले याली निकालेको त्यहास्थित हाम्रा सहकर्मीले जनाएका छन ।
यस्तै सल्यानलाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै आन्दोलनरत सल्यानी जनताले आज देखि चौबिसै घण्टा जिल्ला बन्द आह्वान गरेका छन । तीन दिनदेखी आन्दोलन गरिरहे पनि माग सम्बोधन नभएको भन्दै आज चौथो दिनदेखि चौविसै घण्टा बन्द आह्वान गरिएको हो ।
प्रदेशको सीमांकन गर्दा अखण्ड राप्ती हुनुपर्ने माग राखेर गरिएको बन्दका कारण सल्यानमा यातायात, बजार, शैक्षिक संस्था, कलकारखाना सबै ठप्प छन ।