काठमाडौं, २८ साउन ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनामा प्रत्यक्ष जिम्मेवार सुरक्षाकर्मी र माओवादी लडाकु कमान्डरहरूको विवरण माग्ने भएको छ ।
विवरण संकलनका लागि आयोगले काम अघि बढाउने तयारि गरेको छ ।
द्वन्द्वकालका जघन्य अपराध तथा मानवअधिकार उल्लंघनका घटनाका सम्भावित आरोपीहरू सुरक्षाकर्मी र माओवादी पूर्वलडाकु हुनसक्ने निष्कर्ष निकाल्दै आयोगले विवरण लिइने बताएको छ ।
आयोगकी प्रवक्ता डा. माधवी भट्टले केही दिनमै सेना, सशस्त्र र नेपाल प्रहरी तथा पूर्वमाओवादी लडाकुहरूको विवरण माग्न लागिएको बताएकी छन । माओवादी सशस्त्र युद्ध सुरु भएदेखि विस्तृत शान्ति सम्झौतासम्मका घटनाको छानबिन गरिने उनको भनाई छ ।
‘०५२ फागुन १ देखि ०६३ मंसिर ५ गतेसम्म द्वन्द्व भएका सबै ठाउँमा कार्यरत सुरक्षाकर्मीका माथिल्लादेखि तल्ला कमान्डर र माओवादी पूर्वलडाकुका पनि तलदेखि माथिसम्मका कमान्डरको विवरण माग्न लागिएको आयोगले जनाएको छ ।
नाम संकलनपछि उजुरी आह्वान गरिने र त्यस आधारमा सम्बन्धित आरोपी सुरक्षाकर्मी तथा माओवादी लडाकुसँग बयान लिने छ ।
आयोगले मानवअधिकार उल्लंघनका घटनामा संलग्न रहेको आरोपमा सुरक्षा निकायले गरेको कामकारबाहीको विवरण पनि माग्ने भएको छ ।