काठमाडौं, २७ साउन ।
कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण राजनीतिक दलका सभासदहरुले कर्णाली स्वायत्त प्रदेश नबनेसम्म आफूहरुको आन्दोलनलाई जारी राख्ने भएका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार गरेको साक्षात्कारमा सभासद् प्रेमबहादुर सिंहले कर्णाली खस आर्य र नेपाली भाषाको जन्मभूमि भएकोले त्यसको संरक्षणको लागि कर्णाली अञ्चलका पाँच जिल्लालाई अलग्गै प्रदेश, मध्यपश्चिममा राखेर विशेष अधिकार सहितको स्वायत्त क्षेत्र वा केन्द्रबाट शासित हुने प्रदेश बनाउनु पर्ने बताउनुभयो ।
उहाँले कर्णाली विकासको मुल प्रभावमा समाहित हुन चाहेकोले कर्णालीको आन्दोलनलाई अरु आन्दोलनजस्तो नबुझी ब्यवहार गर्न आग्रह पनि गर्नुभयो ।
त्यस्तै अर्का सभासद् महेन्द्रबहादुर शाहीले अहिलेको सीमांकनले कर्णालीलाई समृद्ध नपार्ने दावी गर्दै क्षतिपूर्तिसहितको कर्णाली प्रदेश निर्माण गरेर कर्णालीलाई आफूहरुले देशकै सबैभन्दा समृद्ध राज्य बनाउने ठोकुवा गर्नुभयो ।
सभासद् ललितजंग शाहीले सामथ्र्य र पहिचानको हिसावमा कर्णाली अलग्गै प्रदेश बन्न सक्षम रहेको उल्लेख गर्दै कर्णालीलाई सुदुरपश्चिममा राख्ने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो । कर्णालीलाई अरु कुन क्षेत्रमा पार्ने भन्ने विषयमा छलफल गर्न सकिने उहाँको भनाई थियो ।
त्यस्तै सभासद मोहन बानियाँले कर्णालीलाई विकासको मुल प्रभावमा जान केन्द्रले नै रोकेकाले विशेष अधिकारसहितको स्वायत्त प्रदेश हुनु पर्नेमा जोड दिँदै सकिदैन भने मध्यपश्चिममा राखेर विशेष अधिकार दिनु पर्ने प्रस्ताव राख्नुभयो ।
सभासद् गोमा कुवँरले कर्णाली सुदुरपश्चिमबाट शासित हुन नचाहेकोले अलग्गै प्रदेश हुनु पर्नेमा जोड दिँदै कर्णाली आफ्नो अधिकारको लागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेको चेतावनी दिनुभयो ।
सभासद तुलराज विष्टले खस आर्यहरुको उद्गम स्थल कर्णाली भाषा र संस्कृतिको हिसावमा समृद्ध राष्ट्र भएको उल्लेख गर्दै संबैधानिक ब्यवस्थासहितको छुट्टै राज्य हुनु पर्ने माग गर्नुभयो ।
त्यस्तै सभासद बलबहादुर महतले कर्णालीलाई आधार बनाएर राज्यको पुर्नसंरचना हुनु पर्नेमा जोड दिँदै कर्णालीलाई विशेष क्षेत्रको रुपमा संबैधानिक ब्यवस्था गर्नु पर्ने बताउनुभयो ।
‘राजनीतिक, आर्थिक अधिकारसहितको प्रदेश चाहियो ।’ उहाँले भन्नुभयो ‘तर अधिकारको नाममा भई रहेको आन्दोलनमा आफ्ना आफै घर जलाउने काम भईरहेकोले त्यसतर्फ भने सचेत हुनु पर्छ ।’
कर्णालीलाई सुदुरपश्चिमबाट निकालेर विशेष स्वायत्त प्रदेश हुनु पर्ने भन्दै कर्णाली नटुक्राई भेरी कर्णालीसहितको प्रदेश भएपनि स्वीकार्य हुने सभासद गिता शाहीले बताउनुभयो ।