काठमाण्डौ ,२७ साउन ।
एक सातदेखिको बन्दका कारण सुदूरपश्चिमको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले ६ दिन यता बन्द गराउँदै आएको छ । त्यसअघि अखण्ड सुदूरपश्चिम पक्षधरले बन्द गराएका थिए ।
थारु कल्याणकारी सभाको बन्द कैलाली र कञ्चनपुरमा मात्र भए पनि त्यसको आंशिक प्रभाव सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको छ ।
कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा बजार खुले पनि लामो दूरिका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
कैलाली र कञ्चनपुरमा भने बजार, यातायात, कलकारखाना र शैक्षिकसंस्था समेत ठप्प बनेका छन् ।
सात दिनदेखिको बन्दका कारण सर्वसाधारणको दैनिकी चौपट बनेको छ भने भारतबाट नेपाल फर्कने यात्रु र मजदूरहरुको बिचल्ली भएको छ । उता, बन्दको कारण कञ्चनपुरमा खाना पकाउने ग्यास र पेट्रोलियम पर्दाथको अभाव भएको छ ।
यसैबीच अखण्ड राप्तीको माग गर्दै रुकुम र सल्यानमा पनि मंगलबार देखि गरिएको बन्द कायमै छ ।
बन्द आह्वानकर्ताहरु बुधबार पनि बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । बन्दका कारण रुकुम र सल्यानको जनजीवन प्रभावित भएको छ ।