काठमाडौ २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय निमोनियाबाट पीडित देवकोटाको उपचारका क्रममा आज बिहान काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा कमलादीस्थित प्रज्ञा भवनमा राखिने भएको छ भने आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
गोरखामा जन्मिनु भएका देवकोटाले २००४ सालको जयतु संस्कृतम् आन्दोलन मार्फत् राजनीति सुरु गर्नुभएको थियो । जयतु संस्कृतिम् आन्दोलनमा लागेका कारण उनलाई तत्कालिन सरकारले देश निकाला गरेको थियो ।
राणा शासनविरुद्धको आन्दोलनमा गोरखाबाट नेतृत्व गर्नुभएका उहा राष्ट्रिय पञ्चायतको अध्यक्ष, सांसद् र मन्त्री समेत बन्नु भएको थियो । स्वर्गीय देवकोटाको नेपाली साहित्यमा पनि ठूलो योगदान रहेको छ ।
‘उत्सर्ग प्रेम’ नामक उपन्यास विधानको ग्रन्थका लागि उहालाई वि सं. २०४४ सालमा मदन पुरस्कारबाट सम्मान गरिएको थियो । विश्वास नामक उपन्यास उहाको पछिल्लो कृति हो ।