काठमाडौ २२ साउन ।
सिमांकन सहितको संविधान जारी गर्न दवाव बढेपछि प्रदेशको सिमांकन विवाद सुल्झाउन केही दिन यता निरन्तर छलफल गरिरहेका प्रमुख दलहरु आज पनि बिहानैदेखि छलफलमा जुट्ने भएका छन् ।
त्यसका लागि शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक सिंहदरबारमा बस्दैछ । बिहान ९ बजेपछि बस्ने बैठकमा विवादित विषय टुंगो लाग्ने नेताहरुको दावी छ ।
आगामी साउन मसन्तसम्ममा संविधान जारी गर्ने तयारीमा रहेका दलहरुबीच प्रदेशको सिमांकनको विषयमा अझै सहमति जुट्न सकेको छैन । प्रदेशको संख्यमा ६ प्रदेश बनाउनेमा सहमति जुटेपनि सीमांकनको विवाद भने टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
पूर्वको झापा, मोरङलगायत जिल्लालाई भित्री तराईका जिल्लासँगको प्रदेशमा राख्ने वा पूर्व पहाडी जिल्लासँगको प्रदेशमा राख्ने, सुदूरपश्चिमका सबै जिल्लाको एक प्रदेश गर्ने वा नगर्ने, तराईमा कति प्रदेश बनाउने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।