काठमाण्डौ, २१ साउन ।
विगत केही दिनदेखि निरन्तर छलपफलमा रहेका प्रमुख चार दलका शीर्ष नेताबीच आज पनि सहमति जुट्न सकेन् ।
’निर्णायक’ भनिएको आजको बैठकमा फोरम लोकतान्त्रिकले मधेसमा तीन प्रदेश हुनुपर्ने अडान राखेपछि सहमतिको संभावना टरेको हो ।
सीमाकंनसहित ६ प्रदेश बनाउने सहमति गरेका दलबीच बिहीबारको बैठकमा फोरम लोकतान्त्रिकले तराइमा तीन प्रदेश बनाउनु पर्ने अडान राखेको थियो ।
उसले मोरङ, सुनसरीदेखि उदयपुर हुँदे सिराहासम्म, धनुषादेखि सिन्धुली र मकवानपुरका केही भूभागसहित पर्सासम्म र नबलपरासीदेखि कैलालीसम्म तीन प्रदेश बनाउनु पर्ने फोरम लोकतान्त्रिकले अडान राखेको थियो ।
फोरम लोकतान्त्रिकको अडानमा कांग्रेस, एमाले र एमाओवादी सहमत नभएपछि सहमति हुन नसकेको हो । ’तराइमा तीन प्रदेश नबनाउने हो भने मधेसमा अप्ठेरो पर्छ त्यसको रिस्क हामी लिन सक्दैनौं’, लोकतान्त्रिका महासचिव जीतेन्द्र देवले भन्नुभयो ।
शीर्ष नेताको बैठक भोली बस्ने सहमति भएको नेताहरूले जनाएका छन् ।