काठमाण्डौ,१९ साउन ।
दलित समुदायको धर्नामाथि प्रहरी दमन भएको भन्दै ब्यबस्थापिका संसदमा बिरोध भएको छ । बैठकमा सत्तारुढ दल काग्रेस ,एमालेकै सभासदले अधिकारकर्मीमाथि दमन भएको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन ।
दलित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै संसदमा चर्को विरोध भए पछि सभामुख सुवास नेम्वाङले भोली बस्ने संसद बैठकमा सरकारकोतर्फबाट जवाफ दिन गृहमन्त्रीलाइ रूलिङ गर्नुभएको छ ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै एमाओवादी सभासद अग्नि सापकोटाले आपत्ति जनाउनु भयो । कांग्रेस, एमालेसहितका दलका सभासदहरुले दलित सभासद तथा अधिकारकर्मीमाथि दमन भएको भन्दै संसदमा गृहमन्त्रीको आलोचना गरेका छन ।
कांग्रेस सभासद दिपक खड्काले काठमाडौंसहितका स्थानमा दलित समुदायले दिएको धर्नामा प्र्रहरीले दमन गरेकोमा बिरोध जनाउनु भयो । एमाले सभासद भानुभक्त ढकालले गृहमन्त्री गौतमले सदनमा जवाफ दिनु पर्ने र आत्मालोचना गर्नु पर्ने माग गर्नुभएको छ ।
कांग्रेस सभासद मीन विश्वकर्माले आफूहरुको धर्नामा प्रहरीले अमानवीय र बर्बर दमन गरेको भन्दै घाइतेहरुको निःशुल्क उपचार र पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गर्नुभयो ।
प्रमुख विपक्षी एमाओवादीका सभासद कर्णबहादुर विश्वकर्माले हिन्दु राष्ट्र माग गर्दै बानेश्वरमा भाला र तरबार देखाउँदा केही नगर्ने सरकारले दलितमाथि किन लाठी र बुट बर्साएको भनेर आक्रोश पोख्नुभयो ।