काठमाडौं, १६ साउन ।
लिपुलेक भुमी नेपालकोे रहेको प्रशस्त प्रमाणहरु भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
देशभक्त संघीय जनवादी मोर्चाले शनिबार राजधानीको संवाद डबलीमा लिपुलेक सम्बन्धि आयोजना गरेको कार्यक्रममा अधिकांस वक्ताहरुले लिपुलेक सम्झौताको खारेजीको लागी नेपाली जनता एकजुट भएर राष्ट्रियताको लडाई लड्न तयार हुनुपर्ने धारणा राखेका हुन् ।
नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भारतले आफ्नो सेना कालापानीबाट हटाउनुको साटो हाल चीनसंग मिलेर नेपालका थप भूमि हडप्ने उसको मनसाय पुरा नहुने बताउनुभयो ।
बास्तोलाले वार्ता कुटनितीको पहल गर्नुको सट्टा सत्तारुढ दलका नेताहरुले लिपुलेक सम्बन्धि गलत धारणा राखेको आरोप लगाउनुभयो उहाँले भन्नुभयो, ‘यदि जनआवाज कसैले सुनेन भने हामीले लडाई लडेर भए पनि फिर्ता ल्याउँछौं ।’
त्यस्तै सिमाविद हिरण्यलाल श्रेष्ठले नेपाली कांग्रसका नेता शेरबहादुर देउवाले भारतमा हिजो मात्रै लिपुलेक त्रिदेशीय बिन्दु हुनुपर्छ भन्ने धाराण राखेको प्रति आपत्ति जनाउंदै प्रश्न गर्दै भन्नुभयो, ‘देउवाले कस्को हितमा बोलेका हुन् ? नेपाल या भारतको ?’
त्यसैगरी कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले पनि लिपुलेक नेपालको हो भन्ने प्रशस्त मात्रामा प्रमाणहरु जुटिसकेको अवस्थामा नेताहरुलाई जेपायो त्यही बोल्दै नहिड्न सुझाव दिनुभयो ।त्यस्तै नेपाली सेनाका पूर्व जनरल कुमार फूदुङले नयाँ नेपाल र स्वतन्त्र नेपाल बन्न नयाँ शक्तिको उदय आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागि अधिकांशले नेपालको भविष्य अन्यौलमा परेको बेला त्यसमा झनै भारत र चिनविच भएको लिपुलेक सम्झौताले अझै संवेदनशिल बनाएको भन्दै राष्ट्रघाती सम्झौता खारेजीका लागी सम्पुर्ण राष्ट्रप्रेमी नागरिक र समुदायले एक हुनु पर्ने बताएका थिए ।