काठमाडौं, १६ साउन ।
मेची अञ्चलमा न्युनतम कार्य सम्पादन तथा शर्त पुरा नगर्ने गाविसको संख्या वर्षेनी बढ्दै गएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको वित्तिय आयोगले निर्धारण गरेको आर्थिक वर्ष २०७१ ÷ ०७२ को न्युनतम शर्त मापन तथा कार्य सम्पादन मुल्यांकनमा ३६ गाविस असफल भएका हुन् ।
मेचीमा आर्थिक वर्ष २०७० ÷०७१ मा २२ र ०६९÷०७० मा १६ गाविसले न्युनतम शर्त पुरा गरेका थिएनन् ।
झापाका ४१ गाविसमध्ये १३, इलामका गाविसमध्य ७ गाविस, ३८ गाविस रहेको पाँचथरमा ८ गाविस र ताप्लेजुङका ८ गाविसहरु न्यूनतम शर्त मापन मुल्यांकनमा असफल भएका हुन् ।् ।
न्यूनतम शर्त मापनमा अनुत्तीर्ण भएका गाविसहरुको अनुदानमा १० प्रतिशतले कटौती हुने व्यवस्था छ । स्थानीय विकास मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार न्युनतम शर्त मापनमा जिल्ला विकास समिति पाँचथर मुलुककै छैटौं स्थानमा आउन सफल भएको छ ।
पाँचथरले ७५ अंक र ताप्लेजुङले ७१ अंक ल्याएका छन् । पाँचथर र ताप्लेजुङले थप अनुदानमा १५ प्रतिशत बढी रकम पाउने भएका छन् ।