१४ साउन, काठमाडौं ।
नेपालबाट वर्षेनी ८ देखि १२ हजारको संख्यामा महिलाहरु विदेशका शहरमा बेचबिखन गरेको तथ्याङक सार्बजनिक भएको छ । मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा बेचबिखन विरुद्ध क्रियाशिल शक्ति समूहले तथ्याङ्क सार्बजनिक गरेको छ । शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले विज्ञप्ति जारी गरी बेचबिखनको शैली फेरिएकाले समस्या पनि झनै जटिल बन्दै गएको बताउनु भयो ।
नेपालका विभिन्न जिल्लाहरुबाट वर्षेनी हजारौंको संख्यामा किशोरीहरु यौन शोषणको प्रयोजनका लागि सञ्चालित भारतका कोठीहरुमा बेचबिखनमा पर्ने गरेको शक्ति समूहले जनाएको छ । वैशाख १२ को विनाशकारी भूकम्पपछि शक्ति समूहले सरकारले भूकम्प प्रभावित जोखिमयुक्त घोषणा गरेका २१ जिल्लामा शक्ति समूहले बेचबिखन विरुद्ध अभियान सन्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले ३० जुलाईलाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रुपमा मनाउने घोषणा गरेसँगै दोस्रोपटक यो दिवस मनाइदैछ । संयुक्त राष्ट्रसंघको एक तथ्यांकले विश्वमा करिब ७९ प्रतिशत बेचबिखन यौन शोषणको प्रयोजनका लागि हुनेगरेको देखाएको छ ।