काठमाण्डौ,१४ साउन ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानमा जनताका सुझाव समेट्न कार्यदल गठन गरेको छ । समितीको आज बसेको बैठकले जनताबाट आएको सुझाव अध्ययन र असन्तुष्ट दलसँग वार्ता गरेर नयाँ संविधानको मस्यौदामा थपघट गर्ने अधिकार शीर्ष पाँच नेतालाई दिएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र चार दलबीच भएको सहमति अनुसार संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले उच्चस्तरीय कार्यदल गठन गरेको हो ।
सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहेको कार्यदलमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रहनु भएको छ ।
कार्यदलले संविधानको पहिलो मस्यौदानमा जनताबाट आएको सुझाव अध्ययन गर्नुका साथै मस्यौदाप्रति असन्तुष्ट दल तथा पक्षहरुसंग छलफल गर्नेछ ।