काठमाडौ १३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँच दिने भ्रमणका लागि आज भारत जाँदै हुनुहुन्छ ।
भारत सरकारको निमन्त्रणामा उहाँ अपरान्न त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
भ्रमणका क्रममा नेता देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च अधिकारीहरुसँग भेटवर्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटका क्रममा नेपालमा संविधान निर्माणमा भइरहेको प्रगति, भूकम्पका कारण मुलुकमा परेको विपत्तिका साथै भारतीय सहयोग तथा भारतका तर्फबाट नेपालमा गर्न सकने लगानी लगायतमा छलफल हुने बताइएको छ ।
यस्तै उहाँले भारतीय रक्षा मन्त्रालय अन्तरगतको इन्स्टिच्युट अफ ल डिफेन्स स्टडिज एन एनालाइसिसमा नेपालको जारी संविधान निर्माण र राजनितिक घटनाक्रमबारे प्रवचन दिने कार्यक्रम रहेको छ ।
भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको निधनमा भारत सरकारले एक साता सम्म राष्ट्रिय शोक मनाउने भएकाले सरकारी पक्षबाट भने कुनै औपचारिक कार्यक्रम तय गरिएके छैन ।
नयाँ संविधान निर्माणका लागि दलहरुबीच भएको १६ बुँदे सहमति समझदारीपछि भारतले पालैपालो नेपाली नेताहरुलाई दिल्ली बोलाएर परामर्श गरिरहेको छ ।