काठमाडौ, १२ साउन ।
संविधान सभाको बैठक आज बस्दैछ । बैठक साँझ ५ बजेपछि संविधान सभा भवन नयाँ बानेश्वरमा सुरु हुनेछ ।
आजको बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बुझाएको सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको संविधान सभा सचिवालयले जनाएको छ ।
झन्डै दुई लाख सुझाव समेटिएको प्रतिवेदन समितिले हिजो सभाध्यक्ष सुवास नेमवाङलाई हस्तान्तरण गरेको थियो ।
संविधानको प्रारम्भिक मस्यौदामाथि समितिले गत असार २४ देखि साउन ७ गते सम्म २ सय ४० वटै निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई लगायत कार्यक्रम गरी सुझाव लिएको हो ।
यसअघि संविधानको प्रारम्भिक मस्यौदामा जनमत संकलन गर्न संविधानसभाको बैठक गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगन भएको थियो । समितिले बुझाएको एकिकृत प्रतिवेदन माथि केहीदिन छलफल गरी सम्वाद समितिमा पठाउने संविधान सभाको तयारी छ ।