काठमाण्डौ,११ साउन ।
प्रधानमन्त्री सुशील कोइरालाले अबको केही सातामा जनताको हातमा संविधान आउने दाबी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार राष्ट्रिय सूचना आयोगले गएको छ महिनामा सम्पादन गरेका प्रमुख कार्यसहितको प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो दाबी गर्नुभएको हो ।
उहाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताउँदै लोकतन्त्रको छातामुनि सबै आइसकेकाले लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने ठोकुवा गर्नुभयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका क्रममा लोकतन्त्रलाई आधार बनाएर सबै विचार र सुझावलाई समेटेर अघि बढ्ने कोसिस भइरहेको जानकारी दिनुभयो ।
प्रतिबद्धताका साथ लाग्ने व्यक्ति असफल नहुने बताउँदै उहाले जनताको सूचनाको हक स्थापित गर्न आयोगलाई निर्धक्क भई अघि बढ्न आग्रह गर्नुभयो । यस्तै आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई प्रभावकारी बनाउन ५ बर्षे रणनीति तयार पारेको जानकारी गराउनु भएको थियो ।
आयोगले प्रत्येक मन्त्रालयमा अनिवार्य सूचना अधिकृत नियुक्ती गर्नुपर्ने, आयोगको दरबन्दी संख्या बढाउनुपर्ने, प्रान्तिय सूचना आयोगको स्थापना गर्नु पर्नेलगायतका माग राखेको छ । आयोगले अनलाईन सूचना दिने प्रविधिको विकास, सूचना पाउने र प्रवाह गर्ने अधिकार सुनिश्चित गर्नु पर्नेलगायतका बिषयमा काम गरिरहेको जनाएको छ ।