काठमाडौ १० साउन । एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने भएकाले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारण राख्नु भएको हो ।
‘नयाँ संविधान, २०७२ मा धर्मनिरपेक्षता र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक सभामा महासचिव महराले धार्मिक सापेक्षतावादविरुद्ध लड्ने पहिलो पार्टी एमाओवादी भएको दावी गर्नुभयो ।
राज्यको कुनै धर्म हुन नहुने भन्दै उहाले धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताबाट मात्रै सबै धर्मको अस्तित्व कायम हुने धारण राख्नुभयो ।
राजतन्त्रको अन्त्य, धार्मिक सापेक्षतावाद, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन एमाओवादीले महत्वपूर्ण भूमिका खेलेको महराको भनाई छ ।