काठमाडौं, १० साउन ।
संविधानको प्रारम्भिक मस्यौदामाथि नागरीकहरुले दिएका सुझाबलाई आज साझ सम्ममा एकीकृत गर्ने काम सकिने नागरीक सम्बन्ध तथा सुझाब समितीले जनाएको छ ।
देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेका सभासद्ले प्रतिवेदन बुझाइसकेकाले साझ सम्ममा सुझाब एकिकृत गर्ने कार्य सकिने सभापति प्रमिला राणाले जानकारी दिनुभयो । सभापति राणाका अनुसार आज समिति मातहतका उपसमितिको बैठक बसेर प्रतिवेदनलाई एकीकृत बनाइने र भोली संविधानसभामा पेश गरिने छ ।
समितिले यही साउन ६ गतेसम्म सबै जिल्लाको सुझाव बुझाउने कार्यतालिका बनाएको भएपनि जिल्लाबाट सुझाव प्रतिवेदन आउन ढिला भएको र आएका प्रतिवेदनलाई छुट्याउन समय लागेको हो ।
प्रतिवेदनलाई एकीकृत बनाएर संविधानसभामा पेश गर्ने र संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने कार्यसूची यस अघि नै तय भैसकेको छ ।
संवाद समितिले आफ्नो जिम्मेवारी पूरा गरेपछि संविधानसभामा पठाउने र संविधानसभाले सहमति भएका विषयलाई मस्यौदा गर्न मस्यौदा समितिमा पठाउनेछ ।