काठमाडौं, ९ साउन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीले थप संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
भारत र चीनबीच भएको लिपुलेक सम्झौता, चार दलबीच भएको चार बुँदे सहमति खारेजी र भूकम्पपीडितको राहतको भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै शुक्रबार आयोजना गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै थप संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहा नगरेको भन्दै नयाँ संघर्षका कार्यक्रम घोषणा गर्नु परेको माओवादीले जनाएको छ ।

पार्टी प्रबक्ता खडक बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’द्धारा आज जारी विज्ञप्ति अनुसार साउन १० गते देश ब्यापी कोण सभा, ११ गते मशालजुलुस, १२ गते एक घन्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि पनि पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा नभए अर्को नेपाल बन्द सम्मको संघर्षका कार्यक्रम घोषणा गरिने बताइएको छ ।
साउन ८ गतेको नेपाल बन्दका क्रममा पार्टी पोलिट्व्यूरो सदस्य तिलक परियार, ९ जना केन्द्रीय सदस्यसहित देशका विभिन्न ठाउँबाट प्रहरीले ३०० भन्दा बढी माओवादी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो ।