काठमाण्डौ,३ साउन ।
कमैया प्रथा अन्त्य भएको १४ वर्ष पूरा भइसकेको भए पनि कैलालीमा पहिचान भएका सबै पूर्वकमैयाको अझैसम्म पुनः स्थापना हुन सकेकोे छैन ।
पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सदियौँदेखि व्याप्त कमैया प्रथालाई तत्कालीन सरकारले अवैध ठहर गर्दै २०५७ साल साउन २ गते अर्काको घरमा काम गरी जीविका चलाउँदै आएका सबै कमैयाको मुक्तिको घोषणा गरेको थियो ।
जिल्ला भूमि सुधार कार्यालय कैलालीका अनुसार अझै एक हजार ६ सय ८ परिवारलाई पूर्ण रुपमा पुनःस्थापना गराउन बाँकी छ । यिनीहरुमध्ये एक हजार १३७ परिवारलाई सट्टा भर्ना दिई पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको जिल्ला भूमिसुधार अधिकारी लक्ष्मण कठायतले बताउनु भयो ।
विगतमा पुनःस्थापनाका क्रममा उपलब्ध गराइएको जग्गामा गई बस्न सक्ने वातावरण विभिन्न कारणले नदेखिएपछि यी परिवारलाई सट्टा भर्ना दिनुपर्ने अवस्था आएको बताइएको छ । मुक्तिको घोषणासँगै जिल्लामा मुक्त कमैया पुनःस्थापना जिल्ला समिति गठन गरी सरकारले पूर्वकमैयाको पुनःस्थापना कार्य अघि बढाएको थियो ।
यसैबीच, कमैया मुक्ति दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा मुक्त कमैयाले आफूहरुको उचित रुपमा पुनःस्थापना नगरिएको कारण जीवनयापन कठिन भएको गुनासो गर्दै रोजगारीको व्यवस्था हुनुपर्ने माग गरको छन ।