काठमाडौ २८ असार ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज आफ्नो भारत भ्रमणका बिषयमा भारतीय राजदुत रञ्जित रेसँग भेटवार्ता गर्नुभएको छ ।
लाजिम्पाट स्थित आफ्नै निवासमा दाहाले राजदुत रेलाई भेटि भोलीदेखि हुन लागेको आफ्नो भारत भ्रमणका बिषयमा छलफल गर्नुभएको हो ।
भेटमा अध्यक्ष दाहाल र रेबीच भ्रमणको एजेण्डा तथा नयाँ दिल्लीमा हुने मुख्य भेटवार्ता र अब बन्ने नँया संबिधान लगायतका बिषयमा छलफल भएको थियो ।
भेटमा राजदुत रेले सबैको भावना समेटिने गरी संविधान जारी गर्न सके त्यो टिकाउ हुने भएकाले सीमांकन सहितको संघीयता जारी गर्नुपर्ने धारणा राख्नु भएको छ । जवाफमा अध्यक्ष दाहालले दलहरुवीच यस विषयमा छलफल सुरु भईसकेको र आफू पनि यसैको पक्षमा रहेको बताउनु भएको थियो ।
यसअघि राजदुत रेले हिजो एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संघीयता सहितको संविधान जारी गर्न सुझाव दिनु भएको थियो ।
ओलीले भने आफू पनि सीमांकन सहितको संविधान जारी गर्ने पक्षमा रहे पनि त्यसैको कारण संविधान जारी गर्न ढिलाई हुने भए त्यसलाई थातिराखेर भए पनि संविधान जारी गर्ने पक्षमा रहेको सुनाउनु भएको थियो । संबिधानको प्रारम्भीक मस्यौदा संसदमा छलफल भएसँगै राजदुत रे ले आफ्नो सक्रियता बढाएका छन् ।