काठमाडौँ, २४ असार ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भुकम्प पिडीतका लागि बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । यसैक्रममा आज भारतको आइएल एन्ड एफएस ट्रान्स्पोर्टेसन, इत्तिहाद एअरवेजले ७५ लाख सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित एक कार्यक्रममा एअरवेजको नेपालस्थित कार्यालयका महाप्रबन्धक पावना श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै उद्धार कोषमा मेडिकल वुमन्स् अर्गनाइजेसन क्यानाडाले २६ लाख ६३ हजार ६९२ रुपैयाँ सहयोग गरेको छ । सो संस्थाका सभापति प्रा डा क्युङ आह पार्कले सो रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो रकम हतान्तरण कार्यक्रममा डा जयबहादुर टण्डन, डा आस्थमा राणा, डा लता बज्राचार्य, डा शिला वर्मा र डा किरण रेग्मीे पनि सहभागी हुनु भएको थियो ।