काठमाडौ २२ असार । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पका कारण जोखिममा रहेका पहाडि क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाव दिएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो चरणमा बढी प्रभावित १५ जिल्लाको अनुगमन गरेको आयोगले दोस्रो चरणमा थप १० जिल्लाको अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाएको छ ।
अनुगमनका क्रममा भूकम्पले जमिन चिरा परेको चितवन शक्तिखोर र जुटपानी गाविसका केही गाउँ, नवलपरासीको देवचुली र किर्तिपुरका केही स्थान स्थानान्तरण गर्न सुझाव दिइएको आयोगका सदस्य मोहना अन्सारीले जानकारी दिनु भयो ।
यसैगरी आयोगले पाल्पाको देउराली गाविस ५ र ७ का धारादी र भुटुका गाउँका केही बस्ती पहिरोको जोखिममा रहेको अनुगमनको नेतृत्व गरिरहनु भएका अन्सारीले बताउनु भयो ।
अनुगमन टोलीले पृथ्वी, सिदार्थ र पोखरा मुस्ताङ राजमार्गसँग जोडिएका पहाड तथा भीर उच्च जोखिममा देखिएको जनाएको छ ।