काठमाडौं, २२ असार।
सशस्त्र प्रहरी बलको नयाँ नियमावलीले सशस्त्र कर्मचारीलाई कार्यक्षेत्रमा आवश्यक परे आफैंले निर्णय गरी गोली हान्न सक्ने अधिकार दिएको छ।
सशस्त्र प्रहरी नियमावली– २०७२ मा कर्तव्यपालनाका क्रममा कहीँबाट बाधाअवरोध भए अन्तिम बल अर्थात् गोली चलाउन कसैलाई सोध्नुपर्नेछैन।
नेपाल प्रहरीलाई गोली हान्ने अधिकार रहे पनि जिल्ला सुरक्षा प्रमुख हैसियतको प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्ने व्यवस्था छ। सुरक्षा संगठनमध्ये नेपाली सेनालाई परिचालित अवस्थामा मात्र गोली हान्न कसैको अनुमति लिनु नपर्ने अधिकार दिइएको छ।
नियमावलीले सशस्त्रलाई प्रहरीलाई झैं शान्तिसुरक्षामा परिचालन हुने र पक्राउपत्रका रुपमा पुर्जी जारी गर्नसक्ने अधिकार तोके पनि अधिकार भने नेपाली सेनाकै झैं अन्तिम बल प्रयोगमा स्वविवेकीय अधिकार दिएको हो।
नियमावलीले विशेष अवस्थामा परिचालित भएका बेला यस्तो अधिकार प्रयोग हुनसक्ने उल्लेख छ तर गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ल्याइएको सशस्त्र परिचालनसम्बन्धी निर्देशिका– २०६९ ले प्रहरीझैँ नियमित काममा खटिन सशस्त्रलाई स्वीकृति दिएको छ।
निर्देशिकाले उसलाई नियमित गस्ती, पेट्रोलिङ, सडक अवरोध हटाउने, चेक प्वाइन्ट राख्ने, घर, सवारीसाधनको खानतलासीसँगै चोरी, डकैती, अपहरण, चन्दा संकलन र लुटपाट नियन्त्रणमा समेत खटिने अधिकार तोकिएको छ।
निर्देशिका कायमै रहेको अवस्थामा यस्ता गतिविधिमा खटिने सशस्त्रले समेत अन्तिम बल प्रयोगमा स्वविवेकीय अधिकार प्रयोग गर्ने अधिकार पाउनेछ।
स्थानीय प्रशासन ऐनले गरेको बल प्रयोगसम्बन्धी वर्गीकरणअनुसार सुरक्षा संगठनले प्रयोग गर्ने अन्तिम बल भन्नाले गोली चलाउने अधिकार हो।
गृह मन्त्रालयको प्रस्तावअनुसार एक साताअघि मन्त्रिपरिषद विधेयक समितिले पारित गरेको नियमावली सोमबार राजपत्रमा प्रकाशित गरिएसँगै कार्यान्वयनमा आएको छ।
उक्त नियमावलीको परिच्छेद ८ मा सशस्त्र प्रहरी कर्मचारीको काम, कर्तब्य र अधिकारमा आपराधिक क्रियाकलापमा संलग्न पाइए पक्राउको अधिकार तोकेको छ। आजको नगरिक दैनिकमा खबर छ ।