काठमाडौ, २० असार ।
अर्थमन्त्री डा रामशरण महतले भुकम्पबाट ध्वस्त संरचना पुनर्निमाणको काम पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले बजेट र योजना तर्जुमा गरेको बताउनु भयो ।
तालिमयुक्त जनशक्ति निर्माण गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमार्फत ५० हजार युवालाई पुनःनिर्माणमा आवश्यक पर्ने तालिम दिने तयारी गरेको पनि उहाले जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्को अर्थ समितिको आजको बैठकमा ‘विनियोजन विधेयक २०७२ को सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा भएको छलफलमा मन्त्री डा महतले पुननिर्माणका लागी छुट्टै शीर्षकमा रहने उक्त बजेट अब बन्ने ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ले परिचालन गर्ने बताउनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि छुट्टै शीर्षकअन्तर्गत बजेट छुट्याइने जानकारी दिदै उहाले त्यसको खर्च ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’मार्फत गरिने बताउनु भयो ।
भूकम्पले भत्केका घरको पुनःनिर्माण गर्न दुईदेखि तीन वर्ष लाग्ने र अन्य सरकारी भवन, मठ, मन्दिर, दरबार, पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न गर्न पाँच वर्षसम्मको समय लाग्ने सरकारको आकलन छ ।
मन्त्री महतले खर्च गर्ने सरकारी प्रशासनिक क्षमता कमजोर भएकाले बजेट समयमै खर्च हुन नसकेको अवगत गराउँदै बजेट कार्यान्वयन सम्बन्धमा सभासद्लाई आ–आफ्ना क्षेत्रमा अनुगमन गर्न आग्रह गर्नुभयो ।
उहाले एक आवमा मन्त्रालय तथा विभागमा हुने कर्मचारीहरुको पटक–पटकको सरुवाले पनि प्रशासनिक अस्थिरता उत्पन्न भई समयमै विकास खर्च गर्न कठिनाइ भएको बताउनु भयो ।
क्षमताशिल र विज्ञ व्यक्तिलाई कर्मचारीतन्त्रमा प्राथमिकता दिनुपर्ने बताउँदै मन्त्री महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताले प्रशासनिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार कम भई अबौं रकम जोगिएको जानकारी दिनुभयो ।
समितिका सभापति प्रकाश ज्वालाको सभापतित्वमा भएको बैठकमा सभासद्हरुले प्रत्येक वर्ष बजेट बढाउन माग गर्ने तर खर्च गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न र पुँजीगत खर्च गर्ने क्षमताका लागि सुशासन कायम गर्न सुझाव दिएका थिए।
सभासद्हरुले कृषि, वन, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा बजेट बढाउनुपर्ने माग गरेका थिए ।