काठमाण्डौ,१७ असार ।
पोखरा विश्वविद्यालयमा नेकपा एमाले निकट अनेरास्ववियू समर्थित विद्यार्थीले आजदेखी अनिश्चितकालीन तालाबन्दी गरेका छन । विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर गोविन्द लामिछानेले अनेरास्ववियूका ३ जना विद्यार्थीलाई अनुशासनको कार्वाही गर्दै १५ दिनका लागि निष्काशन गरेपछि विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रिय कार्यालयमा ताला लगाएका हुन ।
तालाबन्दीपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको छ भने सम्पूर्ण प्रशासनिक कामकाज पनि प्रभावित बनेको छ ।यसको समर्थनमा विभिन्न आंगिक क्याम्पसमा समेत विद्यार्थीहरु आन्दोलित भएका छन ।
आफुहरुका जायज माग पुरा गराउन विश्वविद्यालय प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएपनि वेवास्ता गरिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको अनेरास्ववियू कास्कीका जिल्ला अध्यक्ष शेखर गौतमले बताउनुभयो । माग पूरा नभए भोलीदेखी पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सम्पूर्ण कलेजहरुमा समेत पठनपाठन ठप्प पार्ने अनेरास्ववियूका नेता सुवास मल्लले चेतावनी दिनुभयो ।