काठमाण्डौ, १५ असार ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउनुभएको छ ।
संविधानसभा सचिवालय सिंहदरबारमा सभापति सिटौलाले विभिन्न दलको फरक मतसहितको मस्यौदा आज सााझ बुझाउनुभएको हो ।
मस्यौदा बुझ्दै सभाध्यक्ष नेम्वाङले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानको मस्यौदा प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आजै नेपाली जनताले थाहा पाउने व्यवस्था गरिने जानकारी दिनुभयो । मस्यौदामा केही दलले फरक मत राखेका छन् । यसरी फरक मत राख्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र केही मधेसवादी दल रहेका छन् ।
दलहरुबीच लामो समयसम्म संविधान निर्माणमा विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रियाले गति लिन सकेको थिएन । सो मस्यौदा आजै संविधानसभाको बैठकमा पेस गरिने सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
एमाओवादीले पनि प्रस्तावना लगायत विभिन्न विषयमा फरक मत प्रस्तुत गरेको र सो फरकमत मस्यौदासागै सविधानसभामा प्रस्तुत हुने एमाआवादीका नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
मस्यौदाको प्रस्तावनामै बहुदलीय व्यवस्था उल्लेख गरेको तथा नागरिकता, संघीय राज्यको अधिकार लगायतको विषयमा फरक मत प्रस्तुत गरेको छ ।