काठमाण्डौ,१५ असार ।
कृषि विकास मन्त्रालयले पहिलो चोटी राष्ट्रिय धान दिवसको अवसर पारेर राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार– प्रदान गरेको छ । पहिलो चोटी प्रदान गरीएको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार कैलालीको टीकापुर नगरपालिका–७ बस्ने केरा व्यवसायी कृषक कालु हमालले पाउनु भएको छ । पुरस्कारको राशि रु दुई लाख छ ।
अन्य उत्कृष्ट कृषक पुरस्कार पाउनेहरुमा धनकुटा भिरगाउँ–२ का चन्द्रलाल तामाङ, कास्की लेखनाथ–२ का छ्यामबहादुर थापा, बर्दिया सोरहवा–२ का छायादत्त भुषाल र चितवन चित्रवन नगरपालिका–७ का प्रकाश वन्त रहेका छन् ।
धनकुटाका कृषक तामाङ अलैँंची र चिया व्यवसायी हुन् भने कास्कीका छ्यामबहादुर थापा बङ्गुर व्यवसायी हुन् । यसैगरी, बर्दियाका छायादत्त भुषाल माछा र चितवनका प्रकाश वन्त पुष्प व्यवसायी रहेका छन् । उत्कृष्ट चार जनाले क्रमशः रु एक लाख रुपैयाँका दरले नगद राशि पाएका छन ।
ती कृषकलाई पुरस्कृत गर्दै कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले पुरस्कार पाउने कृषकले कृषि क्षेत्रमा सद्भावना दूतका रुपमा काम गर्न ध्यानाकर्षण गर्नुभएको थियो । उहाँले पुरस्कार प्राप्त गर्ने कृषकले यस क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।