काठमाडौं , असार ११ ।
हिजोदेखी मनसुन सक्रिय भएसँगै पश्चिममा भारी वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यका सहित पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । भारी वर्षासँगै पश्चिम महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । महाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा ३ वटा घर बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
पानीको बहाव बढेपछि पश्चिमीनाका गड्डाचौकी भएर भारत प्रवेश निषेध गरिएको छ । शारदा ब्यारेजमा चार पाग्रे सवारी साधनलाई आवतजावत गर्न बिहानैदेखि निषेध गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । आज बिहान साढे ९ बजेको मापनअनुसार पानीको बहाव बढेर खतराको संकेत भन्दा माथि २ लाख २५ हजार ३ सय ८० क्युसेक पुगेको छ ।
यस्तै भारी बर्षाका कारण नेपालगंजका बिभिन्न ठाउँ डुबानमा परेका छन् । बर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत– जुम्ला सडक खण्डको सेरीघाटमा यातायात अवरुद्ध भएको छ । उकालो बाटोमा पानी परेर चिप्लो भएपछि गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
यसैबिच हिजो देखी परेको वर्षाका कारण डोटीमा घर भत्कीदा एक जनाको मुत्यु भएको छ । बारपाटा गाबिस १ की ५२ बर्षिय परी बलायरको घर भत्किँदा च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।