अछाम, ११ असार ।
बुधवार साँझदेखी परेको वर्षाले अछाम सहित सूदुरपश्चिमका कृषकहरुलाई राहत भएको छ । वर्षा भएपछि कृषकहरुलाई धान रोपाँई गर्नका लागि सहज भएको छ भने रोपिएको खेतहरुलाई पर्याप्त सिंचाई पुग्ने भएको छ ।
हिउदे याममा पर्याप्त वर्षा भएको यो क्षेत्रमा बैसाख यता पर्याप्त पानी नपर्दा कृषकहरु मारमा परेका थिए । हिउदेबाली गहु भित्र्याँउने बेलामा भारी वर्षा भएर यो क्षेत्रको गहुं उत्पदनमा केही असर पुगेको थियो भने सुख्खा याममा पानी नपरेर धान रोप्न तथा ब्याड राख्न कृषकहरुलाई समस्या श्रृजना भएको थियो ।
बुधवार रातीदेखी आएको वर्षाले कृषकहरुलाई खेतवारी ब्यस्त बनाएको कृषि बिज्ञहरुले बताएका छन । अधिकाँश मानिसहरु कृषि पेशामा आवद्ध यस क्षेत्रका मानिसहरुलाई पानी परेसंगै रोपाँई गर्न भ्याई नभ्याई भैरहेको बताईएको छ ।
अछाममा भने ४० प्रतिशत क्षेत्रमा मात्र रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय अछामको तथ्यंक रहेको छ ।
यतिवेलाको वर्षाका कारण असार १५ सम्म ५० देखी ५५ प्रतिशत क्षेत्रमा रोपाई सकिने कृषि विकास कार्यालय अछामका बागवानी विकास अधिकृत डम्मर सिंह भाटले बताए ।
उनका अनुसार अछाम जिल्लाका कैलास किनार, बुढिगंगा छेउछाउ र कर्णाली किनारका खेतहरुको रोपाई सकिएको छ भने कम पानी हुने र वर्षाको भर पर्ने खोला किनारका खेतहरुमा रोपाई हुन बाँकी रहेका छन ।
जिल्लाको ५६ हजार ३ सय ४७ हेक्टर कुल खेतीयोग्य भुभाग मध्ये ४२ हजार ४ सय १३ हेक्टर क्षेत्रफलमा खेती भईरहेको छ । जसमा १६ हजार ५ सय ७० हेक्टरमा धान खेती हुने गरेको बागवानी अधिकृत भाटले बताए । गतवर्ष अछाममा ३३ हजार एक सय ४० मेट्रीक टन धान उत्पादन भएको थियो ।


