काठमाडौं, १० असार ।
भारत र चीनबीच लिपुलेकमा व्यापारिक नाका खोल्ने भएको सहमति सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
दार्चुलाको लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत र चीनबीच भएको सहमति सच्याउन माग गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमि लिपुलेक भन्ज्याङलाई भारत र चीनले आफ्नो व्यापारिक स्वार्थका लागि प्रयोग गरेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ दूतावासपछि भारतीय दूतावासमा समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो ।
नेपालको भौगोलिक अखण्डतालाई खतरामा पारेर भारत–चीनबीच भएको सहमति पूर्णरुपमा हटाउनुपर्ने मोर्चाको माग छ । गत जेठ १ गते चीन र भारतबीच लिपुलेकलाई दुई देशको अन्तरसीमा व्यापारीक नाका बनाउने सम्झौता भएको थियो ।