काठमाडौं ८ असार आगामी असार १० गते राजधानीमा हुने अन्तराष्ट्रिय दाता सम्मेलनमा विभिन्न ७ देशका मन्त्री सहभागी हुने भएका छन् ।
छिमेकी राष्ट्र भारत र चीनलगायत ७ देशका मन्त्रीहरु सम्मेलनमा उपस्थित हुने अर्थ मन्त्रालयका अन्तराष्ट्रिय सहायता समन्वय महाशाखाका उपसचिव नारायण ढकालले जानकारी दिनु भयो ।
राजधानीको सोल्टी होटलमा हुने सम्मेलनमा करिब २५० विदेशी दातृ राष्ट्रका पदाधिकारी सहभागी हुनेछन् । विदेशी पाहुनाका लागि नेपाल सरकारले असार ९ गते नै रात्री भोजको आयोजना गर्ने भएको छ । १० गते बिहान प्रधानमन्त्रीको उदघाटन मन्यव्यसँगै सम्मेलन सुरु हुनेछ ।
ढकालका अनुसार सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, चीनका विदेश मन्त्री वाङ यी, बंगलादेशका अर्थमन्त्री अबुल माल अमस्त, श्रीलंकाका विपद व्यवस्थापन मन्त्री आहम फौजी, भुटानका अर्थमन्त्री लियोन पो थांकाको दोर्जे र जापानका राज्यमन्त्री मिनोरु क्यूची सम्मेलनमा आउनेछन् ।
त्यसैगरी, जाइकाका अध्यक्ष डा. किमियो तानाका, एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष, संयुक्त राष्ट्र संघका उपमहासचिव र यूरोपियन कमिशनका जनरल कन्सुलर पनि सम्मेलनमा सहभागी हुन आउने भएक छन् ।
हालसम्म ५० देश र दातृनिकायले सम्मेलनमा सहभागी हुने जानकारी दिइसकेका छन् । सरकारले ७० देश तथा दातृ निकायलाई दाता सम्मेलनमा उपस्थित हुन निमन्त्रण पठाएको थियो । सम्मेलनमा सरकारले भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि ६ खर्ब ६६ अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन प्रस्तुत गर्दैछ ।