काठमाडौँ, असार ७ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले तराइका २ जिल्लामा दादुरा र रुबेला देखिएपछि देशैभरि खोपको मात्रा बढाउने तयारी थालेको छ । बाँके र बर्दियामा २ पटक खोप लगाइ सकेकामध्ये ३० प्रतिशतमा दादुरा र रुबेला देखिएको छ ।
मन्त्रालयको बालस्वास्थ्य महाशाखा प्रमुख डा. कृष्ण पौडेलले अहिलेसम्म ९ महिना पुगेका बालबालिकालाई मात्र खोप दिने गरिएकोमा अब १५ महिना पुगेपछि पनि खोप दिने गृहकार्य थालिएकोे जानकारी दिनुभयो ।
महाशाखा प्रमुख डा पौडेलले बाँके र बर्दियासँगै दादुरा र रुबेला बिरुद्धको खोपको मात्रा देशका सबै जिल्लामा बढाइने बताउनु भयो । यसैगरी मन्त्रालयले भूकम्प अति प्रभावित जिल्लामा दादुरा र रुबेला बिरुद्धको खोप अभियान पनि चलाउँदैछ ।
असार महिनाभित्र भूकम्प प्रभावित जिल्लाका सबै बालबालिकालाई दादुरा र रुबेला बिरुद्धको खोप दिने मन्त्रालयले तयारी गरेको हो । सरकारले २५ वर्ष अघिदेखि दादुरा बिरुद्धको खोप अभियान सुरु गरेको हो । यस्तै तीन वर्षदेखि दादुरासँगै रुबेला बिरुद्धको खोप पनि दिन थालिएको छ ।