काठमाडौ, ६ असार ।
भूकम्पमा परी मृत्यु भएका मृतकहरुको नाममा रसुवाको स्याप्रुबेसीमा शान्ति पूजा सम्पन्न भएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जिल्लामा मृत्यु भएका मृतकहरुको नाममा कुन्साङ थोप्तीक शान्ति पूजा गरिएको हो ।
सम्पूर्ण मृतआत्माको चिरशान्तिको लागि पूजा कार्यक्रम आयोजना गरिएको चुनगोन नाङ्की थोङसालीङ गुम्बाका प्रमुख लामा आनि माया शाक्यले बताउनुभयो ।
पूजाको लागि बौद्धस्थित सेतो गुम्बाबाट धर्मगुरु टुल्कु पासाङ छिरिङ औतारी लामा स्याफ्रुबेसी पुग्नु भएको थियो भने अन्य स्थानीय लामाहरुको पनि सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा कलाकार प्रेम लोप्चन र नाम्सादिम छोरङान नेपालका अध्यक्ष तथा पत्रकार हिरामान बल तामाङले सहयोग गर्नुभएको छ ।
सरकारी तथा गैर सरकारी संघ÷संस्थाहरुबाट राहत वितरण मात्र गरिरहेको अवस्थामा भूकम्पले घरहरु ध्वस्त भएर ज्यान गुमाएका मृतकहरुको आत्मालाई शान्ति मिलोस् भन्ने कामनाका साथ सो पूजा गरिएको गुम्बा प्रमुख शाक्यको भनाई छ ।
