काठमाण्डौ,५ असार ।
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका क्षेत्रीय निमित्त प्रमुख मोहनदेव जोशीले मानवअधिकार रक्षकहरुले माध्यमका रुपमा सक्रिय भएर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।
तीन दिनसम्म कैलालीको धनगढीमा सञ्चालन भएको मानवअधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिमको आज समापन कार्यक्रममा बोल्दै उहाले समुदायमा मानवअधिकारका उल्लंघनका घटनाबाट पीडित भएकालाई न्याय दिलाउन मानवअधिकार रक्षकहरुले सहयोग गर्र्नु पर्ने बताउनु भयो ।
‘आवाज विहीनको आवाज र अनुहार विहीनको अनुहार हामी मानवअधिकार रक्षकले बन्न सके मानवअधिकारको पूर्ण पालना हुन्छ,’ उहाले भन्नुभयो , हामीले न्याय दिने होइन माध्यम हौं । पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्छ ।’
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका क्षेत्रीय निमित्त प्रमुख जोशीले यसक्षेत्रमा रहेका आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरुमा पहल कदमी गर्नु पर्ने उल्लेख गर्दै मानवअधिकार रक्षकहरुले सिकेको ज्ञानलाई सिद्धान्त पूर्वक निष्पक्ष भएर व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सुदूरपश्चिम क्षेत्रीय संयोजक खड्कराज जोशीले आ–आफ्नो क्षेत्रबाट मानवअधिकारको रक्षाका लागि काम गर्नु पर्ने बताउनु भयो । समापन कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत कृष्ण विक पत्रकारद्वय यमबहादुर बम र मुक्ता सिंहले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
असार ३ गतेबाट शुरु भएको तालिममा कैलाली र कञ्चनपुरका मानवअधिकार रक्षक, विभिन्न अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।