काठमाडौँ, ३ असार ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा निजामती कर्मचारीहरुले ३६ करोड ६ लाख ५२ हजार ८ सय ६७ सहयोग गरेका छन । निजामती कर्मचारीहरुबाट संकलित सो रकम सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानम्नत्री शुशिल कोइरालालाई आज हस्तान्तरण गर्नुभयो ।
सो रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकको हितमा अहोरात्र खटिरहेका राष्ट्रसेवक कर्मचारीबाट भएको सहयोगको प्रशंसा गर्दै रकमको सही सदुपयोग हुने बताउनु भयो । उहाले हाल वितरण भइरहेको जस्तापाता कमसल खालको देखिएको भन्ने सूचना आएकाले त्यसको यथार्थ जाँच गर्न निर्देशन समेत दिनुभएको छ ।
कार्यक्रममा मन्त्री पण्डितले भूकम्पबाट घरबारविहीन भएका सबैलाई सरकारबाट प्रदान गरिने रु १५ हजार समयमै छिटोछरितो उपलब्ध गराउनुपर्ने र अझै केही स्थानमा जस्तापाता नपुगेको भन्ने सूचना आएकाले तत्काल उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
७५ जिल्लामा कार्यरत विशिष्ट श्रेणीका निजामती कर्मचारीबाट १५ दिनको, राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीबाट १० दिनको र अन्य सबै कर्मचारीबाट पाँच दिनबराबरको तलबबाट सो रकम संकलन गरिएको मुख्य सचिब लिलामणी पौडेलले जानकारी दिनुभयो । उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ ।