काठमाण्डौ,२ असार ।
श्रम प्रतिनिधिहरुबीचको विवादले वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालय आजबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीहरु असुरक्षीत रहेकाले आजबाट कार्यालय अनिश्चितकालका लागि बन्द गरेको कार्यालय प्रमुख विश्वप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
हिजो केही श्रम प्रतिनिधिहरुले कार्यालय प्रमुख सुबेदी लगायतका कर्मचारीमाथि दुब्र्यवहार, गालीगलौज र ढुंगामुढा गर्नुका साथै कार्यालयका भौतिक संरचनाहरु तोडफोड गरेको भन्दै कार्यालयको कार्य सम्पादन गर्न नसकिने विभागले जनाएको छ ।
कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म तथा कार्यालयका कर्मचारीमाथि दुब्र्यवहार तथा आक्रमण गर्ने श्रम प्रतिनिधिमाथि कारबाही नभएसम्म सेवा दिन नसक्ने विभागले जनाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको फाइल नभेटिएको भन्दै श्रम प्रतिनिधिहरुले कार्यालय कर्मचारीमाथि आक्रमणको प्रयास गरेका थिए ।