काठमाडौं, ११ जेठ ।
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा आयातको वृद्धिदर घटे पनि निर्यात झन् खस्किएकाले व्यापारघाटा बढेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा व्यापारघाटा १० प्रतिशतले वृद्धि भएर ५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।
भन्सार विभागका अनुसार चालू आवको वैशाखसम्म व्यापारघाटा ५ खर्ब ९ अर्बबाट १० प्रतिशत वृद्धि भएर ५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।
निर्यातभन्दा आयात ९ गुणाभन्दा बढी छ । चालू आवको वैशाखसम्म आयात ५ खर्ब ८४ अर्बबाट बढेर ६ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । निर्यात भने ७५ अर्ब रुपैयाँबाट घटेर ७० अर्ब रुपैयाँमा सीमित भएको छ ।
निर्यात वस्तुमा विविधीकरण गर्न नसक्नुका साथै नेपालमा बढी उत्पादनको सम्भावना भएका वस्तु पनि विदेशबाट आयात बढिरहेको छ ।
१० महिनाको अवधिमा विदेशबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवमा १ खर्ब ११ अर्ब रुपैयाँ भएको चालू आवको १० महिनासम्म १ खर्ब ३ अर्ब रुपैयाँमात्र आयात भएको छ ।
पेट्रोलियम पदार्थको परिमाण बढे पनि अन्तराष्ट्रि«य बजार मूल्य ह्वात्तै घटेका कारण आयात घटेको छ । यो वर्ष पेट्रोलियम पदार्थको मूल्य करिब ५० प्रतिशतले गिरावट आएको छ ।
आयातका हिसाबले दोश्रो नम्बरमा आयात हुने फलाम तथा इस्पात भने वृद्धि भएको छ । फलाम तथा स्पातजन्य वस्तुको आयात ५२ अर्ब रुपैयाँबाट बढेर ५४ अर्ब रुपैयाँ पुगेको छ ।
विद्युतीय मेसिनरी सामग्री ३३ अर्ब रुपैयाँबाट वृद्धि भएर ४६ अर्ब रुपैयाँबराबरको सामान आयात भएको छ । ठूला मेसिनरी सामग्री ४१ अर्ब रुपैयाँ आयात भएको छ ।
सवारीसाधन ४० अर्ब रुपैयाँ आयात भएको छ । खाद्यान्न आयात ३० प्रतिशतले वृद्धि भएको छ । चालू आवमा २७ अर्ब ५९ करोड रुपैयाँ आयात भएको छ । गत आवमा २१ अर्ब १२ करोडको खाद्यान्न आयात भएको थियो ।
प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु २२ अर्ब ८६ करोड रुपैयाँको आयात भएको छ । सुपारी आयात भने घटेको छ । सुपारी १० अर्बबाट घटेर ८ अर्ब रुपैयाँको मात्र आयात भएको छ । निर्यातमा पनि फलाम र इस्पातजन्य वस्तु नै छ ।
फलाम तथा इस्पात ६ अर्ब ५० करोड रुपैयाँ, गलैंचा ५ अर्ब ७४ करोड, तयारी पोसाक ५ अर्ब ४८ करोड रुपैयाँको निर्यात भएको छ । कफी, चिया र मसला ५ अर्ब ६४ करोड र फलफूलजन्य वस्तु ३ अर्ब ७५ करोड रुपैयाँको निर्यात भएको छ ।
चालू आवको वैशाखसम्म लक्ष्यको ६९ प्रतिशतमात्र राजस्व असुल भएको छ । १ खर्ब ४८ अर्ब लक्ष्यमा १ खर्ब ४४ अर्ब रुपैयाँमात्र राजस्व लक्ष्य हासिल भएको छ ।