रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भूकम्पप्रभावित र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको व्यवस्था गर्ने तयारीमा रहेको बताए । उनले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्यमुख्य स्थानमा सञ्चित गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको जानकारी दिए ।
मन्त्री थापाले राजधानी भित्रिने पृथ्वी राजमार्ग अवरुद्ध भए बिपी राजमार्ग हुँदै पेट्रोलियम पदार्थ आयात गर्ने तयारी भइसकेको बताए । उनले साधन स्रोतको अभावले राहत वितरणमा केही कमजोरी भए पनि आगामी एक महिनाभित्र मङ्सिर÷पुससम्मलाई पुग्ने खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने दृढता व्यक्त गरे ।
मन्त्री थापाले भूकम्प आउनुपूर्व नेपालसँग एक लाख ५० हजार क्विन्टल खाद्यान्न भण्डारण रहेकामा एक लाख क्विन्टल वितरण भइसकेको जानकारी दिए । उनले आगामी तीन महिनाको लागि भूकम्पपीडितलाई खाद्यान्न वितरण गर्न विश्व खाद्य सङ्गठनसँग सम्झौता हुन लागेको जानकारी दिए ।
आगामी दिनमा आउनसक्ने विपत्तिका बेला तत्काल खाद्यान्न सङ्कट हुन नदिन काठमाडाँैमा चार हजार र पूर्वको लहानमा दुई हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्न लागिएको उनले जानकारी दिए ।
यस्तै काठमाडौँसहित धेरै खुला स्थानमा १५ देखि २० परिवार अट्ने गरी सामुदायिक भवन निर्माण गर्ने तयारी भइरहेको भन्दै त्यस्तो भवन आगामी दिनमा विपत्ति आउँदासमेत आश्रय स्थल हुने विश्वास व्यक्त गरे ।