जेठ ७, काठमाडौं ।
सरकारले भुकम्पबाट प्रभाबित जिल्लामा दिइने आर्थिक सहयोगका लागि विनियोजन गरिएको रकम आज सम्वन्धित जिल्लामा पठाउने भएको छ । भूकम्प प्रभावित प्रत्येक परिवारलाई १५ हजार दिने निर्णय अनुसार १४ जिल्लामा सरकारले रकम निकासा गर्न लागेको हो ।
सरकारले अस्थायी बसोबासका लागि जस्तापाता किन्न १५ हजार रुपैया राहत दिने निर्णय गरेको थियो । गृहमन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले प्रत्येक परिवारलाई १५ हजार रुपैया दिने नीति अनुसार रकम पठाउन लागिएको जानकारी दिनुभयो । उहााका अनुसार, त्यसका लागि प्रधानमन्त्री राहत कोषबाट ४ अर्ब रुपैया निकासा भएको छ ।
भूकम्प प्रभावितलाई अस्थायी बसोबासका लागि ७ अर्ब भन्दा बढी रकम खर्च हुने भएपनि पहिलो किस्ताको रुपमा ४ अर्ब निकासा भएको हो । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका घरलाई आधार बनाई जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिसमा रकम दिन लागेको गृहमन्त्रालयले जनाएको छ ।