यस्तो रहेछ महाभुकम्पमा विदेशीले गरेको सहयोग

यस्तो रहेछ महाभुकम्पमा विदेशीले गरेको सहयोग

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

 नेपालमा यही वैशाख १२ गतेको करिब १२ बजे आएको विनाशकारी भूकम्पबाट भएको अकल्पनीय क्षतिलाई ध्यानमा राखी यसका पीडितलाई सहयोगका लागि सोही दिन नै बेलायती एक चर्चित अभिनेत्री जुआना लुम्लेले बेलायती नागरिकसँग आग्रह गरिन् ।

उनले सो सहयोगका लागि डिजास्टर इमरजेन्सी कमिटी गठन गरिन् र त्यसका लागि आफैँले सुरुमा केही रकमबाट खाता खोल्दै भनेकि थिइन् — शुभप्रभात बेलायत, मलाई यो भन्न अत्यन्तै अविश्वास लागेको छ कि नेपालमा भूकम्पले अकल्पनीय क्षति पु¥याएको समाचार आएको छ, त्यसैले पीडितको सहयोगको लागि मैले यो याचना गरेकी छु ।

उनको यो सहयोगको याचनाले पनि अकल्पनीय रूप लियो । गएको अप्रिल २५ मा आएको भूकम्पलगत्तै स्थापना गरिएको सो कोषमा तीन दिनमै करिब तीस लाख अमेरिकी डलर जम्मा भयो । त्यसमा अहिलेसम्म आउदा ८७ हजार जना बेलायती नागरिकले सहयोग गरेका छन् र उक्त सहयोगको रकम अहिलेसम्म आइपुग्दा पाँच अर्ब नेपाली रूपैयाँ कटिसकेको छ ।

आफ्नो एकल प्रयासप्रतिको यो सद्भाव देखेर उनले तीनदिनपछि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेकि छिन्— मलाई मेरो देशप्रति ठूलो गर्व छ । मप्रति विश्वास गरेर नेपाली नागरिकप्रति देखाएको मायाका लागि म आभारी छु । उनी नेपालका पूर्व गोरखालाई पनि बेलायती गोरखा जत्तिकै बराबर तलब र सुविधा दिनुपर्छ भनेर लडेकी बेलायती अभिनेत्री हुन् ।

उनले सो समयमा पनि ब्रिटिश गोर्खाको अधिकार स्थापनाका लागि सफलता प्राप्त गरेकी थिइन् र यसपटक पनि उनको नेपालप्रतिको मायाले सार्थक रूप लिनसक्यो । यसअघि पनि उनलाई गोरखाकी छोरी भनेर चिनिन्थ्यो । अहिले झन उनको यो मायाले हामी नेपालीको मन छोएको छ । बेलायती लेखिका एवम् मोडेलसमेत रहेकी उनी एक नागरिकले अघि सारेको यस प्रयासमा बेलायती नागरिकले नेपालीप्रति अगाध माया दर्शाएका छन् ।

download

लुम्लेको प्रयासमा जस्तै नेपाली नागरिकलाई परेको पीडामा सहयोगको हात फैलाउनेहरूको सङ्ख्या संसारमा बढ्दै गएको छ । विश्वको एक प्रभावकारी सामाजिक सञ्जालका रूपमा स्थापित फेसबुकले भूकम्पको दुई दिनमात्र पछि एक अलग्गै साइटको स्थापना ग¥यो र सहयोगको आग्रह ग¥यो । कम्तीमा पनि २० लाख अमेरिकी डलर स्थापनाको लक्ष्य राखेको फेसबुकले पनि सो आग्रहपछि आवश्यक मात्रामा सहयोग प्राप्त गर्नसक्यो । विश्वमा रहेका प्रायः दक्षिण एसियाली नागरिकले यस साइटमा सहयोगको हात बढाइरहेका छन् ।

भूकम्पको भोलिपल्ट नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले नेपालमा भूकम्पबाट कम्तीमा पनि ८० लाख नागरिक प्रभावित भएको तथ्याङ्क निकाल्यो । साथै सो कार्यालयले नेपालका करिब १४ लाख नागरिकलाई तत्कालै खाद्यान्न र सबैप्रकारको सहयोगको आवश्यकता रहेको जनायो ।

राष्ट्रसङ्घको यो तथ्याङक र सहयोगका लागि गरेको आह्वानले पनि विश्वका नागरिकलाई नेपालप्रति सहयोगको लागि थप झकझकाएको हो । राष्टसङ्घले पनि नेपाललाई करोडौँ रूपैयाँ सहयोगको प्रस्ताव गरेको थियो । राष्टसङ्घको यस प्रतिबद्धताले विश्वका दाता राष्ट तथा संस्थालाई नेपालप्रति आकर्षित बनाएको थियो ।

राष्टसङ्घले तत्कालै ८० करोड सहयोगको घोषणा ग¥यो भने उसको पदचाप पछ्याउँदै अन्य विदेशी दाता निकायले पनि आर्थिक सहयोगका प्याकेज अघि सारे । छिमेकी देश भारत यसरी सहयोग र उद्धारका काममा सबैभन्दा अघि उभियो । नेपालमा भूकम्प गएपछि त्यसको डेढघन्टाभित्रै मन्त्रिपरिषदको आकस्मिक बैठक बस्यो र नेपालमा उद्धारका लागि भौतिक र आर्थिक सहायताको घोषणा ग¥यो ।

भूकम्पपछिको उद्धारका लागि भारत सरकारले तत्कालै सैनिक र ६ वटा हेलिकोप्टर पठाउने निर्णय ग¥यो । त्यसलगत्तै नै उसले भारतका सांसदहरूले प्रति सांसदले एक महिनाको तलब नेपालका भूकम्पपीडितको सहयोगका लागि उपलब्ध गराउने निर्णय ग¥यो । सोही दिन नै नेपालमा भारतीय सैनिक, उद्धारकर्ता र हेलिकोप्टर भित्र्याइयो । भूकम्पले पुरिएका भग्नावशेषभित्रबाट कयौँलाई जीवितै उद्धार गर्नका लागि भारतीय सैनिक र उद्धारकर्ताका आधुनिक उपकरणहरूले निकै राम्रो काम गरेको अनुभव नेपालीसँग छ ।

images3

भूकम्पपछिको खोज र उद्धारका लागि विश्वका ३४ देशका उद्धार टोली नेपाल आएका थिए । तीमध्ये १८ देशले त सेना नै पठाएका थिए । १८ देशका चार हजार १४२ सेना नेपाल आएका थिए । यसरी नेपाल आएकामध्ये सबैभन्दा धेरै सेना भारतका ७०४ जना सैनिक थिए । त्यसपछि चीनका १६८, बंगलादेशका १४०, संयुक्त राज्य अमेरिकाका १२० जना सैनिक रहेका थिए ।

ती सबै सेनाले नेपाली सेनाको समन्वयमा काम गरेका छन् । सैनिक समूहमध्ये कतिपयले मेडिकल टोली नै पठाएका थिए । इजरायलको मेडिकल टोलीले नेपाली सेनाको छाउनी ब्यारेकबाट सेवा दिएको थियो । अत्याधुनिक सेवाका साथ त्यहाँ बसेको मेडिकल टोलीले भूकम्पपछि १२० घन्टापछि उद्धार गरिएका पेम्बा तामाङ र १२८ घन्टापछि उद्धार गरिएकी अर्की महिला कृष्णाकुुमारी खड्काको उपचार गरेका थिए ।

भूकम्पपछि नेपाललाई सहयोगको घोषणा गर्नेमा जापान पनि अग्रपङ्क्तिमा थियो । उसले पनि सैनिक सहायताका अतिरिक्त मेडिकल टिम एवम् ठूलो रकम आर्थिक सहायताको घोषणा गर्यो । त्यस्तै बेलायतले पनि नेपाललाई ठूलो रकम सहयोग उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेको छ भने युरोपेली युनियनको सहयोग अलग्गै छ ।

भुटानका प्रधानमन्त्री नै नेपाल आउनुभयो र आफैँले सहायता रकम प्रदान गरेर छोड्नुभयो । त्यस्तै एसियाली विकास बैङ्कलगायत विभिन्न वित्तीय संस्थाले पनि नेपाललाई सहायता एवम् सहुलियत ऋणको घोषणा गरेका छन् । यस्तै दक्षिण एसियाली राष्टहरूले नेपाललाई दुःखका बेला एक छिमेकीले दिनुपर्ने साथ दिई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराएका छन् । यता स्वदेश र विदेशमा रहेका नेपालीहरूको सहयोगको अभियान पनि छँदैछ ।

images2

 

सहयोगको रकम यकिन छैन । कतिपय देश तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले पनि आवश्यकता र उद्धारका क्रममा देखिएको क्षतिको प्रकृति र आवश्यकताको आधारमा राहत रकमको घोषणा गर्ने गरेका छन् । उनीहरूकाअनुसार यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर रहने छ । तर यतिखेर हामीप्रति माया दर्शाएर अघि बढेको सहयोगी हात नै हाम्रा लागि ठूलो कुरा हो । पृथ्वीको एक कुनामा रहेका मानवले बिपतका बेलामा अर्काे कुनाका मानवलाई गर्ने यस्तो सहयोगले यस पृथ्वीमा भाइचाराको सम्बन्धलाई थप विस्तार गर्नेछ ।

पश्चिम नेपालको गोरखालाई केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको भूकम्पले राजधानी काठमाडौँ र विशेषगरी सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोरखा, लम्जुङ र दोलखामा बढी मात्रामा क्षति पुगेको छ । यस प्रलयबाट ज्यान जाने नेपालीको सङ्ख्या आठ हजार नाघिसकेको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पको भग्नावशेषमा अझै कति हराएका छन् भन्ने कुरा अझै यकिन हुन सकिरहेको छैन । भौतिक सम्पत्तिको क्षतिको पनि कुनै लेखाजोखा छैन । सरकार उद्धारको काममा बढी लाग्नुपर्ने भएकोले भौतिक क्षति मूल्याङ्कनको काम अझै सम्भव हुन सकेको छैन । एकराज पाठक, रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी