काठमाडौँ। लगातार दबाबमा रहेको शेयर बजारमा बिहीबार ‘बुलिस हरामी’ (Bullish Harami) क्यान्डलस्टिक प्याटर्न देखिएको छ। प्राविधिक विश्लेषणअनुसार घट्दो बजारमा बिक्री दबाब कमजोर हुँदै गएको र बजार फर्किने प्रयासमा रहेको सङ्केतका रूपमा यस आकृतिलाई हेरिन्छ।
बुधबारको कारोबारमा २,६३५.३१ विन्दुबाट खुलेको नेप्से बन्द हुँदा २,६१२.४२ विन्दुमा झरेर ठुलो रातो क्यान्डल बनेको थियो। तर बिहीबार २,६१६.४० विन्दुबाट सुरु भएको बजार ११.९४ अङ्कले बढेर २,६२४.३६ विन्दुमा बन्द भई अघिल्लो दिनको रातो शरीरभित्रै सानो हरियो क्यान्डल बनाएको छ। दुई दिनका यी क्यान्डललाई संयुक्त रूपमा हेर्दा ‘बुलिस हरामी’ आकृति बनेको देखिन्छ।
विश्लेषकहरूका अनुसार यो प्रारम्भिक सङ्केत मात्र भएकाले बजार पूर्ण रूपमा फर्किएको पुष्टि भइसकेको छैन। आगामी कारोबारमा नेप्से २,६३५ विन्दु नाघेमा ‘थ्री इनसाइड अप’ (Three Inside Up) आकृति बन्नेछ, जसले बजार पुनरुत्थानको दरिलो पुष्टि गर्नेछ। अर्कातिर, ५० दिने मुभिङ एभरेज (50-DMA) अझै २०० दिने रेखा (200-DMA) भन्दा तल रहेकाले र डेथ-क्रसओभर कायमै रहेकाले दीर्घकालीन रूपमा बजार बुलिस प्रवृत्तिमा प्रवेश गर्न गोल्डेन-क्रसओभरको प्रतीक्षा गर्नुपर्ने देखिन्छ।