ब्याजदर इतिहासकै न्यून हुँदा पनि किन बढेन कर्जाको माग? : अर्थमन्त्री स्वर्णिम वाग्ले

ब्याजदर इतिहासकै न्यून हुँदा पनि किन बढेन कर्जाको माग? : अर्थमन्त्री स्वर्णिम वाग्ले

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर इतिहासकै न्यून अवस्थामा झर्दा पनि कर्जा प्रवाह हुन नसकेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई प्रश्न गरेका छन्।

मंगलबार अर्थ मन्त्रालयमा वाणिज्य बैंकका सीईओहरूलाई डाकेर मन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको वर्तमान मनोविज्ञान, बजारको आत्मविश्वास र व्यवसायीहरू नयाँ लगानी विस्तार गर्न हिच्किचाउनुका कारणबारे गम्भीर छलफल गरेका हुन्।

बैठकमा अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसक्नुको मूल कारण मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको खस्किँदो आत्मविश्वासमध्ये के हो भन्दै बैंकरहरूसँग उत्तर मागेका थिए।

“बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के-कस्ता संरचनागत सुधार आवश्यक छन्? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ?,” अर्थमन्त्री वाग्लेले प्रश्न गर्दै भने, “अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ?”

निजी क्षेत्रका उद्योगीहरूसँगको संवादपछि अर्थतन्त्रको केन्द्रमा रहेका बैंकिङ क्षेत्रका नेतृत्वकर्ताहरूसँग छलफल गरिएको उनले बताए। अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास र लगानीकर्ताको सोच सबैभन्दा स्पष्ट रूपमा बैंकका सीईओहरूले नै महसुस गर्ने भएकाले यो छलफल राखिएको उनको भनाइ थियो।

सुधार र साझा राष्ट्रिय जिम्मेवारी

बजेटमार्फत सरकारले नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिसकेको र अबको ध्यान पूर्ण कार्यान्वयनमा रहने अर्थमन्त्रीले स्पष्ट पारे।

“हामी सबैको साझा लक्ष्य एउटै छ— नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने,” उनले भने, “सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो।”

बैंकरहरूको माग: बजारमा माग र लगानीमैत्री वातावरण सिर्जना होस्

बैठकमा सहभागी वाणिज्य बैंकका सीईओहरूले आ-आफ्नो धारणा राखेका थिए। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार अधिकांश बैंकरहरूले बजारमा माग बढ्ने वातावरण बनाएर मात्र बैंकमा रहेको रकम कर्जाका रूपमा प्रवाह हुन सक्ने बताएका छन्।

“निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण बनाउने र ऋण असुली गरेकै भरमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारीले मुद्दा खेप्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने विषयमा छलफल भएको छ,” अध्यक्ष कोइरालाले भने। बैंकरहरूका माग सम्बोधन गर्दै कर्जा प्रवाह हुने सहज वातावरण बनाउने प्रतिबद्धता अर्थमन्त्री वाग्लेले दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी