असार २५ काठमाण्डौँ । सरकारले विभिन्न माग राखेर आन्दोलन गरीरहेको चिकित्सकहरुसँग सहमति गरेको छ । यो सहमति सँगै बुधबारबाट सबै अस्पतालहरु खुल्ने भएका छन् ।
मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो।
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न विद्यमान कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदललाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
समितिको सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधि रहनेछन्।
कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरू सम्मिलित वार्ता टोलीमा पेस गरिने र कार्यन्वयन गर्ने सहमति भएको छ।
