नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरु

  • बिहिबार, फाल्गुन १, २०८१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

फागुन १, काठमाडौं । नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरु भएको छ । पछिल्ला वर्षहरूमा सरुवा रोगको तुलनामा नसर्ने रोगले बढी मृत्यु हुने गरेको र उमेर नपुगी हुने मृत्युको जोखिम बढेको भन्दै सरकारले देशैभर अभियान सुरु गरेको हो ।

स्थानीय तहमा उपलब्ध साधन स्रोत परिचालन गरी सबै नागरिकलाई आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक रहेकाले सबैले जोड दिनुपर्ने बताएका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी) ले आयोजना गरेको नसर्ने रोगको लागि पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा नसर्ने रोगको भार बढिरहेको बताउदै समयमै परीक्षण गर्न आग्रह गरेका हुन् ।

उनले भने, मलाई केही पनि हुँदैन भन्ने घमण्डमा हामीमा छ त्यसैले परीक्षण गर्न बेवास्ता गर्छौँ तर समयमा परीक्षण गरिएन भने दीर्घरोगी भइ बाँच्नु पर्ने हुन्छ । रोग लागेको छैन भन्ने घमण्ड त्यागौँ र नियमित परीक्षण गराऔँ । डा पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान कार्यक्रम नियमित कार्यक्रमरूपमा गरिरहेको र स्थानीय तहले यो कार्यक्रमलाई बढी महत्वका साथ अघि बढाओस् भन्ने उद्देश्यले अभियान थालेको बताए ।

स्वास्थ्य मन्त्रालयले आजबाट महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ ।

यो अभियान नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुने भएको हो । देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थामा सञ्चालन हुँदैछ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नसर्ने रोगको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । उनले भने, यस अभियानले सबै स्वस्थ्य रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वजस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियन्त्रण र नुनको अत्यधिक प्रयोगमा कमी ल्याउन मद्दत पुग्ने आशा गरिएको छ ।

विश्वभर मृत्यु र अपाङ्गताको मुख्य कारको रुपमा नसर्ने रोग रहेको छ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको देखिन्छ । बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तनजस्ता कारणले नसर्ने रोग बढिरहेको छ ।

विश्वव्यापी रोगको भारसम्बन्धी सन् २०१९ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा कुल मृत्युको ७१ प्रतिशत कारक नसर्ने रोगले हुन्छ भने सरुवा रोगका कारण २१ प्रतिशत मृत्यु हुन्छ। बाँकी आठ प्रतिशत दुर्घटनाका कारणले हुन्छ। बिरामी हुने र मृत्यु हुने नसर्ने रोगहरूको भारमा सबैभन्दा बढी रगत तथा मुटुजन्य रोग, श्वासप्रश्वास, क्यान्सर र मधुमेह अग्रपंक्तिमा छन्। यो भनेको कुल रोगको एकचौथाइ भाग नसर्ने रोगको भार हुनु हो।

पछिल्लो सर्वेक्षणअनुसार नेपालमा सन् १९९० सम्ममा मृत्युको मुख्य कारक सरुवा रोग रहेकोमा सन् २०१९ मा आइपुग्दा मृत्युको मुख्य कारक दशवटा नसर्ने रोगको कारण देखिएको छ। सर्वेक्षणअनुसार सन् १९९० मा क्षयरोग, आमा तथा नवजात शिशु, मलेरिया, एचआइभी जस्ता रोगले बढी मृत्यु हुन्यो भने अहिले मुटु तथा मुटुजन्य रोग, मिर्गौला, मधुमेह र क्यान्सर, सडक दुर्घटनाका कारण बढी मृत्यु हुन्छ।

तथ्यांकअनुसार मुटु तथा मुटुजन्य रोगको कारण सन् २०१० मा कुल मृत्युको १०.२९ प्रतिशत मृत्यु हुन्थ्यो भने सन् २०१९ मा यो संख्या २४.७६ प्रतिशत पुगेको छ। स्नायुजन्य रोगका कारण सन् २०१० अघि १९.३० प्रतिशत मृत्यु हुने गरेकोमा सन् २०१९ मा आइपुग्दा २५.३९ प्रतिशत मृत्यु हुने गरेको देखिन्छ। छालाजन्य संक्रमणका कारण सन् २०१० भित्र १८.२६ प्रतिशत मृत्यु हुने गरेकोमा सन् २०१९ मा आइपुग्दा २६.३२ प्रतिशत पुगेको छ। त्यसैगरी जीर्ण श्वास–प्रश्वाससम्बन्धी रोगका कारण १०.३३ प्रतिशतको मृत्यु हुने गरेकोमा सन् २०१९ मा २१.१३ प्रतिशतको मृत्यु पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी