काठमाडौं, ८ मसिर । चीन सरकारले काठमाडौंको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन दिएको छ । शनिबार नेपालका लागि चिनियाँ राजदुत छन सोङले क्षत्रपाटीमारहेको उक्त चिकित्सालयको प्रांगणमा आयोजित कार्यक्रमकामा विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्थ्यमा भएको सवारी हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा मनोजमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं१७ का वडा अध्यक्ष नवीन मानन्धर लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालले छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेरअघि बढिरहेको बताउँदै विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा चिनिया सरकार र नेपाल थित दुतावासलाई आभार प्रकट गरे ।
कार्यक्रममा चिनिया राजदुत सोङले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताए ।
समूदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा २०१६ सालमा स्थापना भएको क्षत्रपाटी निशुल्क चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा चिकित्सालयका अध्यक्ष श्रेष्ठले सवारीसाधन मात्र नभएर एमआरआई लगायत अन्य उपकरणहरुमा पनि चिनिया सहयोग रहेन विश्वास व्यक्त गरे ।





