प्रदेश गौरवको आयोजनामा समेटिएको विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव

प्रदेश गौरवको आयोजनामा समेटिएको विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव

  • बुधबार, कार्तिक २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

गण्डकी, २१ कात्तिक : प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिनुभयो ।

प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । “प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो । जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो ।

प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उहाँले बताउनुभयो । उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी सात आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ ।

गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।

मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् । “नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ” मन्त्री पाठकले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी