काठमाडौं । नेपालमा बनेको स्याटलाइट प्रक्षेपणका लागि भारतको विदेश मन्त्रालय र न्यु स्पेश इन्डिया लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र न्यु स्पेश इन्डिया लिमिटेडका तर्फबाट निर्देशक अरुनाचलम एबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
कार्यक्रममा नास्टका सचिव डा. रविन्द्रप्रसाद ढकाल र भारतका लागि कार्यवाहक नेपाली राजदूत डा। सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्के सहभागी थिए।
गत पुस १९ गते नेपाल(भारतबीचको संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया –एनएसआइएल०बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो।
नेपाली अन्तरिक्ष स्टार्टअपले मुनाल स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ। उपग्रहको उद्देश्य पृथ्वीको सतहको वनस्पति घनत्व डाटाबेस निर्माण गर्ने हो।