ढलमा पोलियो भाइरस देखिएपछि कामपाले विशेष खोप अभियान सुरू गर्दै

ढलमा पोलियो भाइरस देखिएपछि कामपाले विशेष खोप अभियान सुरू गर्दै

  • सोमवार, साउन ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ, ७ साउन : काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ ।

हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ ।

महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकानुसार महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमा गएर पोलियो थोपा खुवाउने छ । पोलियो खोप छ, १० र १४ हप्ता गरी तीन पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन) खुवाइन्छ । यस्तै १४ हप्ता र नौ महिनाको उमेरमा सुइबाट पोलियो खोप दिइन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र दुई लाख ३८ हजार नौ सय ६६ घर छन् । यी घरहरूमा पाँच वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको महानगरको अनुमान छ ।

विभागको तथ्याङ्कमा वडागत रूपमा हेर्दा सबैभन्दा धेरै वडा नं ६ मा छ हजार १२ जना बालबालिका छन् भने सबैभन्दा कम वडा नं १ मा चार सय ६२ जना छन् ।

जनस्वास्थ्य निरीक्षक श्रेष्ठले नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस नदेखिए पनि उपत्यकाका केही स्थानका ढलमा पोलियो भाइरस देखिए पनि खोप लगाउन थालिएको बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “पोलियो उन्मूलन रणनीतिअनुरूप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो । उपत्यकाका विभिन्न पाँच ठाउँको ढलबाट महिनाको दुईपटक नमूना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिन्थ्यो । यही क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) मा लिइएको नमूनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।” तर सोही ठाउँमा जेठ २२ गते फेरि लिइएको नमूनामा भने भाइरस नदेखिएकाले यसबारे अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको श्रेष्ठको भनाइ छ ।

वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यकाबाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ । नेपालमा पोलियो उन्मूलन रणनीति २०२२–२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी