चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

  • शनिबार, फाल्गुन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

टीकापुर (कैलाली), १९ फागुन : कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिनुभएको हो । सो अवधिमा उहाँले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिनुभएको छ ।

टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउनुहुन्छ । यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ । यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ । ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको डा दासले बताउनुभयो ।

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन् । “कहिलेकाहीँ एकै दिन सात वटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ”, उहाँले भन्नुभयो, “सुत्केरी सेवाका साथै पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा सङ्क्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दैआएका छौँ ।”

अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ । डा दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताउनुभयो । “मेरो बुहारीको अवस्था खतरामा थियो, बाहिर लैजान हामीसँग रकम थिएन, टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो”, उहाँले भन्नुभयो, “धेरै गरिबको रकम बचत भएको छ ।” पहिला उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा बाहिर लैजानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो ।

टीकापुर नगरपालिकाले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन् । स्त्री रोग विशेषज्ञ डा दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दैआउनुभएको छ । तीन दिनअघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ ।

“शिशुको नाभी र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो, यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ”, डा दासले भन्नुभयो, “हामीले दुवैलाई बचाउन सक्यौँ ।”

टीकापुर अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट सुत्केरी सेवा लिन आउने गरेका छन् । उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि श्ययाको अभाव हुन थालेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी